बाढीले बालबालिकाको घर खोस्यो,परिवार होइन, उनीहरूलाई परिवारसँगै र नजिकै राखौँ !
समावेशी सञ्जाल (Inclusive Network) को आह्वान !
काठमाडौँ । समावेशी सञ्जाल बालबालिकालाई परिवारबाट छुट्याउने अवस्थाविरुद्ध अपाङ्गता अधिकारका लागि र परिवारमा आधारित वैकल्पिक स्याहारका लागि काम गर्ने संस्थाहरूको अनौपचारिक सञ्जाल हो । सन् २०२६ अगस्ट २६ को बाढी विपतबाट प्रभावित सबै व्यक्ति तथा आफन्त, घर र जीविकोपार्जन गुमाएका परिवारप्रति हामी गहिरो दुख व्यक्त गर्दछौँ । उद्धार, राहत र पुनर्प्राप्तिको हरेक चरणमा हामी उहाँहरूसँगै उभिन्छौँ ।
त्यसदिन बिहान हिमनदी भत्किँदा पानी, बरफ, हिलो र ढुङ्गाको प्रवाह भोटेकोशी र त्रिशूली उपत्यकाहरू हुँदै तल बगेर आयो । केही मिनेटमा नै त्यसले रसुवा, नुवाकोट र धादिङमा घर, विद्यालय, स्वास्थ्य संस्था, सडक र पुलहरू बगायो । गोरखा तथा तनहुँसम्म असर पुर्याएको बाढीले १ हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएकोछ भने हजारौँ अझै बेपत्ता भएका छन् ।
यी जिल्लाका बालबालिकाले उपेक्षा वा आफ्नै रोजाइका कारण परिवार गुमाएका होइनन् । विपद्ले उनीहरूको घर खोस्यो र केही अवस्थामा आमाबाबु पनि । हामी सबै मानवीय सरोकारवालाहरूलाई दुई कुरामा अडिग रहन आह्वान गर्दछौँ: परिवारको विकल्प खडा गर्ने होइन, परिवारलाई सहयोग गर्ने र कुनै पनि बालबालिकालाई प्रभावित क्षेत्रबाट टाढा नलैजाने ।
अहिलेको अवस्था
- युनिसेफका अनुसार करिब २२ हजार १०० बालबालिका प्रत्यक्ष प्रभावित भएका छन् ।
- राष्ट्रिय बालअधिकार परिषद्ले ३० वटा अस्थायी आश्रय केन्द्र (होल्डिङ सेन्टर) मा १,२३३ बालबालिका रहेको गणना गरेको छ । ती मध्ये ६९२ जना कम्तीमा एक अभिभावकसँगै छन् भने ४३९ जना आमाबाबुबाट छुट्टिएका छन्
- संयुक्त रुपमा गरीएको मूल्याङ्कन अनुसार १०२ बालबालिका एक्लै(अभिभावकविहीन) छन् र आमाबाबुबाट छुट्टिएका अन्य बालबालिका आफन्तको स्याहारमा छन् ।
- भिडभाड भएका आश्रयस्थलले बालबालिकाको स्वास्थ्य र सुरक्षा जोखिममा पारेको भन्दै सेभ द चिल्ड्रेनले चेतावनी दिएको छ ।
- आमाबाबु दुवै गुमाएका बालबालिकाको तथ्याङ्क अपूर्ण हुँदा उनीहरू बालबेचबिखन र यौन शोषणको जोखिममा रहेको राष्ट्रिय मानव अधिकार आयोगले चेतावनी दिएको छ ।
यी अधिकांश बालबालिकाका जीवित आमाबाबु वा आफन्त छन् । घर नष्ट हुनु परिवारकहाँ आश्रय, खोजी र सहयोग पुर्याउनुपर्ने कारण हो । बालबालिकालाई अन्यत्र सार्नुपर्ने कारण होइन ।
बालबालिकालाई टाढा नलैजाऔँ, टाढाका बालगृहमा नपठाऔँ
कुनैपनि बालबालिकालाई प्रभावित जिल्ला बाहिर लैजान वा विपद्ग्रस्त क्षेत्रभन्दा टाढाको बालगृहमा पठाउन पाइँदैन । यो केवल अधिकार प्राप्त बाल संरक्षण निकायले परिवार खोजीको प्रयास गरेपछि, व्यक्तिगत रूपमा बालबालिकाको सर्वोत्तम हितको निर्णय गरेर, अन्तिम उपायका रूपमा मात्र हुन सक्छ । यो नियम असल नियतले काम गर्ने व्यक्ति, संस्था, व्यवसायी तथा धार्मिक समूहमाथि पनि उत्तिकै लागू हुन्छ ।
- दूरीले परिवारसँगको सम्बन्ध तोड्छ : हराएको बालबालिका आफन्तहरू , आफ्नो गाउँ, जिल्ला तथा आमाबाबुको नाम जान्ने बालबालिका, एकपटक बालबालिकालाई टाढा लगिएपछि एकअर्कासँग जोडिन सक्दैनन् । बालबालिका खोज्न सकिने ठाउँमै रहेका सुरक्षात् हुन्छन् ।
- दूरीले समुदाय, भाषा, संस्कृति, विद्यालय र घर फर्कने बाटो तोड्छ : सुरक्षित भएपछि तुरुन्त घर फर्कन सकियोस् भन्नका लागि बालबालिका आफ्नो समुदायको नजिकै रहनुपर्छ ।
- अनियमित ओसारपसार बालबेचबिखन र शोषणको बाटो हो : राष्ट्रिय मानव अधिकार आयोगले सबैभन्दा बढी जोखिममा औँल्याएका बालबालिकालाई “सुरक्षित ठाउँमा लैजान्छौँ” भन्ने असल नियतको प्रस्तावले नै सबैभन्दा ठूलो जोखिममा पार्छ ।
- मापदण्डको आवश्यकता हो : बाल अधिकार सम्बन्धी महासन्धि (धारा ९, २० र २२) र बालबालिकाको वैकल्पिक स्याहारसम्बन्धी संयुक्त राष्ट्रसंघीय निर्देशिकाले कुनैपनि स्थानान्तरण अन्तिम उपाय, अस्थायी र बालबालिकाको घर तथा समुदायको नजिकै हुनुपर्ने व्यवस्था गरेका छन् । एक्लै रहेका तथा छुट्टिएका बालबालिका सम्बन्धी अन्तर-निकाय मार्गदर्शक सिद्धान्त र मानवीय कार्यमा बाल संरक्षणका न्यूनतम मापदण्डले बालबालिकाको समुदायभित्र वा नजिकै परिवार खोजी, पुनर्मिलन र परिवारमा आधारित अन्तरिम स्याहारलाई प्राथमिकता दिएका छन्
बालबालिका किन परिवारसँगै रहनुपर्छ ?
- कानुनी दायित्व : बाल अधिकार सम्बन्धी महासन्धि र नेपालको बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालबालिकाको सर्वोत्तम हितका लागि आवश्यक भएमा, व्यक्तिगत मूल्याङ्कन गरेर, पुनरावलोकन हुने र अस्थायी रूपमा मात्र छुट्याउन अनुमति दिन्छन् । अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि (धारा २३) ले बालबालिका वा आमाबाबुको अपाङ्गताका कारण छुट्याउन निषेध गरेको छ ।
- आश्रय केन्द्र अस्थायी जोखिम : भिडभाड भएका, अस्थायी र दर्ता अस्पष्ट हुने स्थानले बालबालिकालाई दुर्व्यवहार र शोषणको जोखिममा पार्छन् । परिवारलाई सकेसम्म चाँडो सुरक्षित आश्रयमा सार्नुपर्छ ।
- संस्थागत स्याहारले बालविकासमा असर : यी बालबालिकाले आफ्नो घर र समुदाय आँखै अगाडि हराएको देखे । परिचित स्याहारकर्ता डर र आघातविरुद्ध उनीहरूको सबैभन्दा बलियो सुरक्षा हो। विशेष गरी प्रारम्भिक बाल्यकालमा संस्थागत स्याहारले बालविकासमा असर गर्छ ।
- उद्धार कार्यको कुनै खर्च लाग्दैन : आमाबाबु, हजुरबुबा-हजुरआमा र आफन्त उद्धार कार्यका सबैभन्दा ठूला स्रोत हुन्, र समुदायले पहिल्यै धेरै बालबालिकालाई आफूकहाँ राखिसकेको छ। परिवार तथा नातेदारमा आधारित स्याहारको खर्च आवासीय स्याहारभन्दा धेरै कम पर्छ र नतिजा पनि राम्रो हुन्छ ।
हाम्रो आह्वान
नेपाल सरकार, स्थानीय तह र राष्ट्रिय बाल अधिकार परिषद्
- परिवारबाट छुट्टिएका तथा एक्लै रहेका बालबालिकाको अभिलेख अद्यावधिक राख्नुहोस् र आमाबाबु दुवै गुमाएका बालबालिकाको तथ्याङ्क पूरा निकाल्नुहोस् ।
- कुनै नयाँ संस्थालाई अनुमति नदिनुहोस् । व्यक्तिगत, अभिलेखित र सर्वोत्तम हित मूल्याङ्कन प्रक्रियाबाहेक कुनैपनि बालबालिकालाई बालगृहमा सार्न नदिनुहोस् ।
- बालबालिकालाई अनधिकृत रूपमा लैजान रोक्न यातायात मार्गका स्थान र आश्रय केन्द्रहरूमा जाँचचौकी र अनुगमनको व्यवस्था गर्नुहोस् ।
संयुक्त राष्ट्रसंघीय निकाय, क्लस्टर र गैर सरकारी संस्थाहरू
- चाँडो दर्ता, परिवार खोजी र पुनर्मिलन गर्नुहोस् । बालबालिकाको समुदायभित्र वा नजिकै नातेदार वा पालनपोषण (फोस्टर) मा आधारित अन्तरिम स्याहारलाई पूर्वनिर्धारित विकल्प बनाउनुहोस् ।
- परिवारलाई आश्रय केन्द्रबाट सुरक्षित आवासमा सार्नुहोस् । प्रतीक्षा अवधिभर उनीहरूलाई सँगै राख्नुहोस् ।
- आवास, नगद, मनोसामाजिक र शिक्षा सहयोग परिवार तथा समुदायसम्म पुर्याउनुहोस् ताकि बालबालिका घरबाटै विद्यालय फर्कन सकून् ।
- हरेक चरणमा अपाङ्गता भएका बालबालिकालाई समावेश गर्नुहोस् ।
दाताहरू (दातृ सस्था)
- खोजी, केस व्यवस्थापन, पारिवारिक आवास र सहयोगमा लगानी गर्नुहोस् । अनाथालय वा नयाँ आवासीय संरचनामा लगानी नगर्नुहोस् ।
स्वयंसेवक,व्यवसायी, धार्मिक समूह र सञ्चारमाध्यम
- बालबालिकालाई बटुल्ने, ओसार्ने वा अन्य जिल्ला वा काठमाडौँ लैजाने काम नगर्नुहोस् । अनाथालय नखोल्नुहोस् । समन्वय भएका माध्यमबाट सहयोग गर्नुहोस् ।
- बालबालिकाको पहिचान खुलाउने गरी समाचार नबनाउनुहोस् । पुष्टि नगरी कुनै बालबालिकालाई “अनाथ” नभन्नुहोस् ।
पहिल्यै गरिएका प्रतिबद्धता
नेपाल बाल अधिकारसम्बन्धी महासन्धि र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धिको पक्ष राष्ट्र हो । मानवीय सरोकारवालाहरूले मानवीय कार्यमा बाल संरक्षणका न्यूनतम मापदण्ड, एक्लै रहेका तथा छुट्टिएका बालबालिका सम्बन्धी अन्तर-निकाय मार्गदर्शक सिद्धान्त र मूल मानवीय मापदण्ड अँगालेका छन् । यी प्रतिबद्धता अहिले नै पूरा गर्न हामी सबैलाई आग्रह गर्दछौँ ।
समावेशी सञ्जालले के गर्नेछ ?
समावेशी सञ्जाल नेपाल सरकार, राष्ट्रिय बाल अधिकार परिषद्, बाल संरक्षण समन्वय संयन्त्र र सबै सरोकारवालासँग मिलेर काम गर्न तयार छौ । हामी निम्नलिखित कामहरु गर्नेछौ :
- प्रभावित जिल्लाहरूमा बालबालिका परिवारबाट छुट्टिएका घटनाहरूको अनुगमन गर्नेछौँ ।
- बालबालिकालाई टाढा गैरकानुनी रूपमा सार्ने वा ओसार्ने कुनैपनि घटनाको अनुगमन र प्रतिवेदन गर्नेछौँ । चासोका विषयहरू अधिकार प्राप्त निकायमा पठाउनेछौँ ।
- बालगृह तथा बाल स्याहार गृहहरूलाई बालबालिकालाई परिवारबाट छुट्टिन नदिने अन्तर्राष्ट्रिय मापदण्ड र असल अभ्यास तथा परिवारमा आधारित वैकल्पिक स्याहारबारे तालिम प्रदान गर्नेछौँ ।
- सबै सरोकारवालालाई हामीसँग सम्पर्क गरी सँगै काम गर्न हामी आमन्त्रण गर्दछौँ ।
ऐकबध्यता साथ,
शिव आचार्य, समाबेशी सञ्जाल (Inclusive Network) परिबारको तर्फबाट
सम्पर्क नम्बर ९८५११०३८९७, इमेल: inclusivenetwork20@gmail.com